उत्कृष्ट कृषिकर्म गर्नेलाई मकवानपुरगढी गाउँपालिकाको पुरस्कार

मूलसमाचार
१ श्रावण २०७८, शुक्रबार ०७:४९

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रही उत्कृष्ट कृषिकर्म गर्ने ६ जना कृषक नगद सहित पुरस्कृत भएका छन् ।

गाउँपालिकामा कृषिकर्ममा रहेका कृषकलाई गाउँपालिकाले जनही ३० हजार नगद तथा प्रमाणपत्र प्रदान गरेको हो ।

कृषि (बाली) तर्फका ३ जना र पशुपालन तथा कुखुरापालन तर्फका ३ जना कृषक पुरस्कृत भएका हुन् ।

पुरस्कृत कृषकमा उत्कृष्ट पशुपालनतर्फ मकवानपुरगढी वडा नम्बर ३ को पीएसपी एग्रो प्रालिका संजय नेपाल, मकवानपुरगढी ४ को पाख्रीन एकीकृत कृषि तथा पशु फर्मका सूर्य बहादुर पाख्रीन र मकवानपुरगढी ७ का मखमली बाख्रा फर्मका गोकुल लम्साल रहेका छन् । यस्तै, कृषि (बाली) तर्फ मकवानपुरगढी वडा नम्बर ३ को तिमल्सिना कृषि तथा फलफूल फर्मका बद्रीप्रसाद तिमल्सिना, वडा नम्बर २ को शितल कागती कृषक समूहका वीरबहादुर स्याङ्तान र वडा नम्बर ८ को चन्द्रसूर्य कृषि तथा पशुपंक्षी फर्मका सूर्यमाया दोङ रहेका छन् ।
उनीहरुलाई बिहीबार मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले सम्मान गरे ।

अध्यक्ष हुमागाईले व्यवसायिक किसान तथा कृषिकर्ममा मकवानपुरगढी गाउँपालिका अग्रसर भइरहेको बताए ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक विनियोजित कार्यक्रमको स्वीकृत कृषि कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रीन, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना लगायतको उपस्थिती रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*