आर्थिक क्रान्तिलाई अब एकसुत्रमा अघि बढाउनुपर्छ : प्रचण्ड

मूलसमाचार
३१ आश्विन २०७९, सोमबार ०७:१९

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशको प्रमुख एजेन्डा विकास निर्माण र समृद्धि हुने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे।

प्रचण्डले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरीमा फस्ने दाबी गरे। आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरूलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूलाई उनले आग्रह गरे।

‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेन्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौं भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन। स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ,’ उनले भने।

‘प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं-२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह पनि गरे। उनले चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरे। उनले घर्तीभित्रै धेरै अन्तर्निहित क्षमता रहेको बताए। त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे।

प्रचण्डले काठमाडौं-२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए। ‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ। यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्,’ उनले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरुको अगाडि पठाइनेछ। यो विश्वास दिलाउन चाहन्छु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*