नेपालले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ : सभामुख

मूलसमाचार
९ श्रावण २०७९, सोमबार १८:५८

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन्।

अहिले राष्ट्रमा काठमाडौं र धरानलगायतका स्थानमा युवाहरूको आवाजरुपी संकेतको रूप देखा परेको उनले बताए। उनले युवाहरूको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए। सभामुख सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने विडम्बना रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए।

उनले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौं तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट आयात गर्छौं।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तर्विरोध मडारिन थालेको पनि बताए। संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको उनले बताए। नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

‘दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस छैन। सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित छ। हतियारको होडबाजी चलिरहेको छ। सैन्य क्षेत्रमा शक्ति राष्ट्रहरूले अत्यधिक खर्च गरिरहेका छन्। यस्तो परिस्थितिमा एउटा नयाँ विश्व दृष्टिकोणको निर्माणको दिशातर्फ संसारका महानतम व्यक्तित्वहरू लागिरहेका छन्। त्यही विश्व दृष्टिकोण निर्माणसँगै नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*