सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ: गीता विष्ट चौलागाई

मूलसमाचार
२४ बैशाख २०७९, शनिबार ०६:११

जनयुद्धको सुरुवातसँग संगठित भएर माओवादी पार्टीमा आवद्ध गीता विष्ट चौलागाई यसपटकको स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । शिक्षकको जागिर छोडेर बुवा जनयुद्धमा पूर्णकालीन भएपछि उहाँमा पनि राजनीतिप्रति चासो बढ्न थाल्यो । त्यसपछि गीता अखिल (क्रान्तिकारी) इकाई कोषाध्यक्ष, अध्यक्ष हुँदै विद्यार्थी संगठनको जिल्ला कमिटी सदस्य बन्नुभयो । २०५८ सालमा विद्यार्थी संगठनबाट बिदा भई पार्टी राजनीतिमा पूर्णकालीन भई लाग्नुभएकी गीता सहिद परिवार पनि हुनुहुन्छ। उहाँको बुवा काभ्रे–रामेछापको इन्चार्जको जिम्मेवारीमा रहँदा २०५९ सालमा तत्कालीन राज्यले हत्या ग-यो।

बुबाको हत्यापछि झन् बदलाभावसहित क्रान्तिमा प्रतिबद्ध भई उहाँ लागिरहनु भयो। जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बन्नुभएकी उहाँले स्वास्थ्य विभागमा रहेर घाइतेहरुको उपचार गर्नुहुन्थ्यो । सुरुवाती चरणमा क्याम्पभित्रै तालिम लिएपछि स्वास्थ्य टोली प्रमुख बनेर उहाँले काम गर्नुभयो ।

एसएलसी दिएर पार्टीमा पूर्णकालीन बन्नुभएकी विष्ट शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा बस्ने क्रममा पढाइलाई पुनः निरन्तरता दिँदै हाल समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने एलएलबी पनि पढ्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी विष्टसँग प्रेस सेन्टर नेपालद्वारा सञ्चालित न्यूज बैंकका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः-

तपाईले किन दोहो¥याएर उम्मेदवारी दिनुभयो ?
गत पाँच वर्षको मेरो कार्यकालमा नेपालको संविधान, स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्षलाई जति जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी मैले कुशलतापूर्वक पूरा गरें । यसपालि पालिकाको समस्यालाई समाधान गरी विकास र समृद्धि ल्याउने मेरो चाहना थियो । त्यसका लागि मेरो दाबी गाउँपालिका अध्यक्षमा थियो । त्यसो हुन नसक्ने भएपछि पार्टी कमिटीको निर्णय र यहाँको जनताको चाहना बमोजिम मैले पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिएकी हुँ । मेरो अनुभव, क्षमता र ज्ञान सुनापतिको विकास र समृद्धिका लागि खर्च हुनेछ ।

सुनापति गाउँपालिकाको विशेषता के के छन् ?
काठमाडौंबाट नजिकको दूरीमा रहे पनि विकास हुन नसकेको पालिका हो सुनापति । गाडीमा चार घण्टाको यात्रापछि पुग्न सकिने भए पनि सुख्खाग्रस्त क्षेत्र भएकाले यहाँ खानेपानीको अभाव छ । पालिकाभित्रका केही वडाका स्थानीय वर्षायाममा मात्रै आफ्नो घरमा बस्ने, अन्य समयमा कोशी किनारमा गएर बस्नुपर्ने बाध्यता छ । अधिकांश तामाङ समुदाय रहेको यस पालिकाको मुख्य आयस्रोत कृषि हो । यहाँको हावापानी, माटोका कारण कृषि उपार्जनका लागि यहाँका जनताले अत्यधिक दुःख गर्नुपर्छ ।

पछिल्लो पाँच वर्षमा हामीले जनताको त्यो दुःखलाई न्यूनीकरण गर्ने कोशिस नगरेका होइनौं । तर थप प्रयत्न गर्नुपर्ने देखिन्छ । यस पालिकामा सुनापति डाँडा, शैलुङको गाठ, सबभन्दा अग्लो स्थान लहरेमानेमा रहेको १०८ स्तुपाहरु एकै ठाउँमा रहेको छ । त्यस्तै चिया बगान पनि बनिरहेको छ । नेपालथोकबाट पैदल यात्रा गरी सुनापति डाँडा र शैलुङ, कालिञ्चोकसम्मको यात्रा अविष्मरणीय बन्नेछ । यसले आन्तरिक तथा तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।

स्थानीय तह निर्वाचनमा तपाई एजेण्डाहरु के–के छन् ?

यस पालिकामा शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेका छौं । त्यस्तै सुख्खाग्रस्त क्षेत्र भएका कारण खानेपानी अभाव कायमै छ । अहिलेको युगमा पनि महिलाहरुको आधा समय पानी बोक्दैमा जाने गरेको दुःखद् यथार्थ कायमै छ यहाँ । त्यसैले घर घरमा पानीको सहज आपूर्तिलाई हामीले मुख्य एजेण्डा बनाएर अघि बढेका छौं । अहिले गाउँमा बच्चा र वृद्धवृद्धाहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई उत्पादनशील तथा सीपमूलक तालिमहरु दिनसके अझ राम्रो हुने थियो ।

लोपोन्मुख रहेका पहरी जाति, सीमान्तकृत माझी र हेल्मो तथा दलित समुदायको बसोबास हाम्रो पालिकामा धेरै छ । उनीहरुको हक अधिकार लेखाइमा मात्रै सीमित रहेकाले उनीहरुलाई अधिकार दिलाउन र जागरुक बनाउन हाम्रो विशेष पहल हुनेछ ।

तपाईको जितका आधारहरु के–के हुन् ?

गत पाँच वर्षको अवधिमा मैले उपाध्यक्षको अधीनमा हुने कुनै पनि काम पारदर्शी तरिकाले गरेको छु । कुनै पनि उपभोक्ता समितिले ‘उपाध्यक्षले गर्दा हाम्रो काम रोकियो वा हामीले दुःख पायौं’ भन्ने अहिलेसम्मे गुनासो आएको छैन । पार्टीको व्यक्ति स्थानीय तहमा जाँदा राम्रो काम गर्न सक्छ कि सक्दैन भन्ने आम मानिसमा जुन तरंग थियो, त्यसलाई मैले निष्पक्ष रुपले न्याय दिन सकेझैं लाग्छ ।

महिला दिदी–बहिनीहरुका लागि मैले गरेका काम चित्तबुझ्दो छन् । मेरो पुनः उम्मेदवारी पनि उहाँहरुकै मागबमोजिम पनि हो । यस पालिकामा मेरो आवश्यकता छ र म जित्छु भन्ने मलाई लाग्छ ।

तपाईंको पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?

योजना अनुगमन समितिको संयोजक उपाध्यक्ष हुन्छन् । त्यो समिति अहिलेसम्म एउटा पनि नराम्रो कुरा मुछिएन । यसको अर्थ सबै कामहरु निष्पक्ष भयो भन्ने हो । सुनापति गाउँपालिकामा यो काम गलत भयो, यस्तो काम गलत भयो भन्ने रिपोर्ट कतै छैन । मुद्दा मामिला व्यहोर्नु परेन । त्यो उपलब्धि हो । समग्रमा भन्नुपर्दा सुनापति गाउँपालिकामा भ्रष्टाचारको अवस्था शून्य छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*