बागी उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन

मूलसमाचार
२६ आश्विन २०७९, बुधबार ०६:५१

काठमाडौं। सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।

गठबन्धनका शीर्ष नेताहरुको आज बसेको बैठकले यही असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने निर्णय गरेको हो।

‘सम्बन्धित पार्टी निकायहरूले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समय सीमा असोज २६ गते १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने ब्यहोरा अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

बैठकपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त विषय उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*