नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीले आजदेखि प्रशिक्षण दिने

मूलसमाचार
१८ जेष्ठ २०७९, बुधबार १०:२५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह सदस्य निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुईदिने प्रशिक्षण दिने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् । उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् भने पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिनेछन् ।

‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, ‘सङ्घीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिने तय भएको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष विष्टका अनुसार हालको स्थानीय तह निर्वाचनमा पार्टीका प्रतिनिधिहरुको संख्या केही बढेपनि पार्टीले अघिल्लो पटक जितेको पालिका हार्नुमा निर्वाचित जनप्रतिनिधिहरुको भूमिका सकारात्मक नभएको निष्कर्ष सहित नवनिर्वाचित जनप्रतिनिधिलाई सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन र बजारीकरणमा उत्कृष्टता हासिल गर्नका निम्ति नै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हाे ।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धनको घटक माओवादी केन्दबाट प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना विजयी बने । २०७४ सालको स्थानीय चुनाव भन्दा यसपटक बढी सिटमा माओवादी केन्द्रले कब्जा जमाएपनि पार्टीको गढ क्षेत्र मानिकएकै ५६ स्थान भने गुमाएको छ ।

मधेस प्रदेशमा पनि माओवादी केन्द्रले आफ्नो साख जोगाउन सकेन । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेस प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खाेसेको छ ।

२०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रले ८० वटा पालिकाको प्रमुख-उपप्रमुख दुवै पद जितेको थियो । सो क्रममा माओवादी केन्द्रले कर्णाली प्रदेशका २१, मधेश प्रदेशका १९, लुम्बिनी प्रदेशका १५, बागमती प्रदेशका ११, सुदूरपश्चिम प्रदेशका ७, गण्डकी प्रदेशको ४ र प्रदेश १ का तीन पालिका प्रमुख र उपप्रमुख जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*