५ वर्ष खेर गएकाे छ, यसकाे जिम्मा ओलीले लिनुपर्छ : गगन थापा

मूलसमाचार
२२ बैशाख २०७९, बिहीबार १५:०७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेर गएको ५ वर्षको जिम्मा नेपालका ठूला कम्युनिष्ट दलले लिनुपर्ने बताएका छन् । आज बिहीबार बत्तीसपुतलीस्थित अनुपम फूड्ल्यान्डमा आयोजित एक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

२०७४ सालमा मिलेर कम्युनिष्ट सरकार गठन गरेका एमाले र माओवादी केन्द्रले खेर गएको ५ वर्षको जिम्मा लिनुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘त्यसमा पनि नेतृत्व गरेको हुनाले केपी शर्मा ओलीले लिनुपर्छ,’ महामन्त्री थापाले भनेका छन् । त्यसअघि उनले भने, ‘५ वर्षपहिले नेपाल कम्युनिष्ट पार्टीसँग झन्डै–झन्डै दुईतिहाइ थियो । साथीहरूले संसद्‌मा टेबुल बजार्दै गर्दा भाँचिन्छ कि भनेर डर लाग्थ्यो हामीलाई ।

त्यत्तिको उहाँहरूमा भ्रम थियो ठूला हौँ भन्ने । तर, गर्नलाई त केही पनि गर्नुभएन । आज ५ वर्ष खेर गएको छ । यसको जिम्मा लिनैपर्छ । लिन्नँ भन्न पाइँदैन ।’

अब जनता जवाफ खोज्ने स्तरमा उक्लिएको उल्लेख गर्दै उनले भने, ‘जवाफ चाहिन्छ अब, ५ वर्षपहिले आउँदै गर्दा काठमाडौँ कति सफा राख्छु भनेका थिए । उत्तर दिनैपर्छस काठमाडौँमा गर्छु भनेको के भयो, के भएन । अब जवाफ चाहिन्छ । अब उत्तर दिनैपर्छ । दिन्नँ भन्न पाइँदैन ।’

यस्तै उनले सिर्जना सिंह यसपटक काठमाडौँमा जित्नुपर्ने बताए । उनले ठूल्ठूला सपना नबाँडेको र साधारण र सानो काम गर्छु भनेर भनेकोमा यस्तै मेयर अहिले काठमाडौँलाई चाहिरहेको सुनाउँदै महामन्त्री थापाले भने, ‘काठमाडौँ सहज हुनुपर्‍यो । सफा हुनुपर्‍यो । यही नै हो आज हामीलाई चाहिएको काठमाडौँ । त्यसैले एकपटक हामीले सिर्जना सिंहको नेतृत्वलाई हेरौँ ।’

त्यसका लागि सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘त्यसमा सिर्जना सिंहले मात्रै गर्न सक्नुहुन्न । हामीले पनि उहाँलाई साथ दिनुपर्छ । जनतासँग जोडिनुपर्छ । जनता भनेका अहिलेका निर्णायक शक्ति हुन् । इमान्दार भएर जनतामा जानुस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*